विकासले ल्याउने परिवर्तनको नमिठो पाटो उक्काइदिएको ‘गाउँ आएको बाटो’

जब ‘गाउँ आएको बाटो’ फिल्मको बारेमा केही सुनेको थिएँ, भन्न मन थियो, जाबो एउटा बाटो पुगेको कथा मात्रै हो ? तर निकै पहिले विजयकुमारले दिशानिर्देशमा एउटा बाटो पुगेको गाउँमा गाडी पुग्दा स्वागतमा एक जना महिलाले पुरानो सारी टाँगेर गेट बनाएको सम्झिन पुगें । युट्युबमा तपाईंले खोज्नुभयो भने आज पनि होला त्यो भिडियो । हेक्का भयो, बाटो जहाँ पुग्छ, बाटो मात्र पुग्दैन, अनौठो संवेगका उभार पनि पुग्छन् ।

गाउँले परिवेशमा तिनै संवेग देखाउलान्, सोचेको थिएँ । त्यसबाहेक नवीन सुब्बाले ‘गाउँ आएको बाटो’मा कस्ता कथा भन्लान् भन्ने चासो थियो । फिल्म हेरें ।

फिल्म हेरेर फर्किएको निकै समयपछि पनि दिमागमा ‘गाउँ आएको बाटो’ घुमिरहेको छ । मुख्यरूपमा एउटा गुनासो छ निर्देशकसँग । त्यो बारेमा अन्तिममा लेख्छु । अनि, सामाजिक र राजनीतिक विषयको उठानका बारेमा कुरा गर्न मन छ । त्यो बारेमा सुरूमा लेख्छु ।

‘गाउँ आएको बाटो’ले एउटा गाउँको कथा मात्र भनेको छैन । नेपाली फिल्मले कहिल्यै सोच्दै नसोचेको मानव सभ्यताको प्रसंग उभ्याएको छ । अबको भविष्यका लागि राज्यले प्राथमिकतामा राख्नैपर्ने, हरेक पुस्ताले तयार हुनुपर्ने विषयमा पनि प्रष्ट संकेत गरेको छ । ती संकेतका लागि हाम्रै आँखा अगाडिका दृश्यको प्रयोगले त्यसलाई झन् वास्तविक र प्रभावकारी बनाएका छन् ।

एउटा प्रसंग माथि नै लेखिसकें । दिशानिर्देशमा विजयकुमारले देखाएको गाडीको स्वागतको घटना । मेरो गाउँमा म सानै छँदा गाडी पुगेको थियो । पुरानो गाडी थियो । ९५ भन्थे । धेरै पछि बुझें, गाडीको नम्बर रहेछ । त्यो गाडीका ड्राइभर हाम्रो क्षेत्रका लागि विशेष पाहुना जस्ता लाग्थे । त्यही किसिमको सम्मान पाएको देख्थें । पछि अरू गाडीहरू थपिए । कुशल ट्राभल्स, विनिता ट्राभल्स आदि । मेरा लागि बाटो पुग्नु, गाडी पुग्नु सामान्य हुँदै गए । विजयकुमारको भिडियोले त्यो सामान्य लागिसकेको विषयलाई विशेष बनाइदिएको थियो । सन्तुष्टि, प्रेम र खुसीले भिडियो हेर्दाहेर्दै आँखा भिजेका थिए ।

लाग्थ्यो, अब फेरि त्यसमा पनि बानी परिसकें । तर गाउँ आएको बाटोले भ्रम तोडिदियो । गाउँमा बाटो पुग्दा गाडी मात्र नपुग्दो रहेछ । गाडीको स्वागतमा हुने भावनात्मक संवेग मात्र नदेखिने रहेछ । गाउँ आएको बाटोले विकास मात्र नल्याउँदो रहेछ । परम्परागत सीपलाई र देखिरहेका सपनालाई पनि विस्थापन गर्दोरहेछ ।

देशले अनौठा बहानाका कथा बाँचिरहेको छ । यहाँ कुनै एक गाउँमा परिवारसँगै बसेर टिभी हेर्ने धोकोमा टिभी किन्न एउटा मान्छेले गाउँ छोड्छ । आफ्नै घरमा परिवारसँग टिभी हेर्न पाइरहेको मान्छे भने थप सम्पत्ति कमाउन गाउँ छोडेर विदेश लाग्छ । राम्रो र सहज जीवन बिताइरहेको मान्छे पनि अरूहरू विदेश गइरहेका छन् भनेर आफू पनि गाउँ छोड्छ । लाग्छ, देश छोड्न मान्छेले बहाना पनि सापटी लिइरहेको छ । बहानाको अर्मपर्म चलिरहेको छ । तेरो बहाना देखाएर म देश छोड्छु र मेरो बहाना देखाएर तँ देश छोड् । तुलनै नगरी गाउँ आएको बाटोले देशले बाँचिरहेको कथा देखाएको छ ।

यी कथा व्यक्तिले, परिवारले, समाजले, राज्यले ध्यान दिन्छ कि दिंदैन ? साह्रै आशावादी जवाफ सायदै आउला । राज्यले आफ्नो प्राथमिकता तय गरेको छैन । तय गरेको छ भने पनि नागरिकलाई बुझाएको छैन । केही गल्ती त छ, कि राज्यले नागरिक बुझेको छैन, कि नागरिकले राज्य बुझेको छैन ।

राज्यलाई डोर्‍याउँछौं भन्ने राजनीतिक दलहरू आफूले वाचा गरेका बाटोमा आफू नै हिंडेका छैनन् । म सम्झिन्छु, संसदीय निर्वाचनमा घोषणापत्र लेख्दाका दिन । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र लेख्ने काममा म पनि थिएँ । हामी दिनरात नभनी काम गरिरहेका थियौं । साविकका दलभन्दा फरक र भुईं टेकेको घोषणापत्र लेख्नेमा हाम्रो ध्याउन्न थियो । त्यसका लागि अरूले छुटाएका तर गर्नैपर्ने कामहरू हामीले लेख्दै थियौं ।

हामीले हजारौं पटक सुनिसक्यौं होला, सडक सञ्जाल बढाउने बारेमा । नयाँ गाउँमा नयाँ बाटो पुर्‍याउने बारेमा । हेर्ने हो भने साना-ठूला दुर्घटना निकै हुन्छन् । दुर्घटनाको कारण प्राविधिक मात्र हुन्न । सडक अनुशासन नभएका कारण बढी हुने गर्छन् । अझ नयाँ बाटोमा त झन् धेरै । स्थानीयले, सवारी चालकले नयाँ बाटोलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी नभएका कारणले पनि दुर्घटना भइरहेका हुन्छन् । यसैले घोषणापत्रमा लेख्यौं, ‘सडकसँग प्रत्यक्ष जोडिएका जनतालाई सडक उपयोगिता र अनुशासनका अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरिनेछ ।’

घोषणापत्रमा लेखेका कुरा लक्षितवर्गसम्म पुग्ने पुर्‍याउने कुरा कहाँ पुग्यो, अलग्गै छलफलको विषय बन्ला । तर एउटा राजनीतिक दलले विज्ञसँग छलफल गरेर, लामो अध्ययनपछि आफ्नो घोषणापत्रमा लेखेको यो विषयलाई ‘गाउँ आएको बाटो’ले मुटु दुख्ने गरेर बताइदिएको छ ।

सबैभन्दा मुख्य कुरा गाउँ आउने बाटोले विकासले ल्याउने परिवर्तनको नमिठो पाटो उक्काइदिएको छ । विकासले गरिबलाई सजिलो बनाउँछ कि गाह्रो बनाएको छ भनेर राज्यलाई खोज्न विवश बनाएको छ । बाटो पुगेर बाँसको चित्रा बनाएर बेच्नमा नामी राई माइला बेकाम्मे बन्छ । बाटो पुगेर लाहुरे जस्ता टाठाबाठालाई झन् धेरै कमाउने अवसर सिर्जना गरिदिन्छ । राज्यले यो पाटोमा सोचेकै छैन । परिवर्तनले रोजगारीमा असाध्यै ठूलो असर पारिरहेको छ । हामी त्यसका लागि तयार छैनौं ।

विश्वप्रसिद्ध इतिहासविद् तथा लेखक युभल नोहा हरारी आफ्नो पुस्तक सेपियन्समा लेख्छन्, ‘कसैले पनि भन्न सक्दैन कि अबको २० वा ३० वर्षमा रोजगार बजारका लागि के चाहिन्छ ? मानव सभ्यतामा नै पहिलोपल्ट अबको केही वर्षमा कस्तो किसिमको सीप र क्षमता भएको मान्छे अनुमान गर्न नसकिने अवस्था सिर्जना भएको छ । यसको अर्थ हो, हामीले हाम्रा सन्तानलाई के पढाउने र के सिकाउने भन्ने बारेमा केही पनि थाहा छैन ।’

त्यस्तै, ‘द एज अफ एआई एन्ड आवर ह्युमन फ्युचर’ पुस्तकमा हेनरी ए किसिङ्गर लगायतका लेखक लेख्छन्, ‘अहिलेसम्म मानव आविष्कारले मानवको दिमागको देब्रे हिस्साले काम गर्ने विकल्पका यन्त्र मात्र बनाएको थियो । कृत्रिम बौद्धिकता (एआई) मार्फत मानिसले अब दिमागको दाहिने हिस्साले गर्ने कामको पनि विकल्प उत्पादन गरेर निकै माथि पुर्‍याइसकेको छ । उदाहरण- च्याटजीपीटी, शब्दबाट गीत बनाउने एआई, शब्दबाट चित्र बनाउने एआई लगायत ।’

संसारका धेरै देशले परिवर्तनलाई आत्मसात गर्नुपर्ने अप्ठ्यारालाई सहज बनाउन वर्षौं अगाडिबाट सुरू गरिसकेका छन् । तर हाम्रोमा अझै पनि बाटो आएको गाउँमा प्लास्टिकका त्रिपाल पाउन थालेपछि बाँसको चोयाको चित्रा बनाउने नागरिकले के गर्छ भन्नेसम्म हेक्का राखिएको छैन, तयारी छैन । तयार छन् त केवल यति उडे भनेर गन्न बसेकाहरु र यति राता बाकस एयरपोर्ट झरे भनेर संख्या टिप्न बसेकाहरू ।

माथि उल्लेख गरिएका लेखकको नजरबाट हेर्ने हो भने गाउँ आएको बाटो झन् कस्तो देखिंदो हो ? सायद नेपाल राज्य र यहाँका नागरिक कुनै जनावरको प्रजाति विकाससँग अनुकूलन हुन नसकेर लोप हुने प्रक्रियामा गए जस्तो देखिन्छ ।

नवीन सुब्बाले ‘गाउँ आएको बाटो’ मार्फत बाटोसँगै पुगेको विकास देखाएका छन् । विकाससँगै पुगेको परम्परागत सीप, रहरमा हुने परिवर्तन देखाएका छन् । भर्खर गाडी चल्न थालेको बाटो उपयोग गर्न नजानेका गाउँले देखाएका छन् । र, राज्यसँग प्रश्न सोधेका छन्, ‘यो सबैमा तँ कहाँ छस् ? परिवर्तनलाई कति बुझेको छस् र आफ्ना नागरिकलाई कति तयार पार्दैछस् ?’

यी प्रश्न गर्दागर्दै सुब्बा स्वयं अलमलिए कि ! नत्र जम्मा पौने दुई घण्टाको फिल्मको अन्तिममा फिल्मको भनेर राखिएको गीत राख्नबाट केले रोक्यो होला ? हलबाट बाहिरिंदै गरेको मलाई फिल्मको कथा, यसले उठाएको विषय, सोधेको प्रश्नले जति संवेदनशील बनायो, त्यति नै मात्रामा राई माइलाले गाउँ छोड्यो रे गीत खड्कियो । त्यो गीत फिल्मको अन्तिममा किन नराखेको हो भन्ने गुनासो छ मेरो ।

एउटा गीतले सम्पूर्ण फिल्मलाई कसरी सारांशको रूपमा देखाउँछ, या भनौं, वाणको टुप्पोमा बसेर मानिसको मगजमा हान्छ भन्ने उदाहरण त धेरै छन् । भर्खरै निस्केको बलिउड फिल्म ‘चम्किला’कै ’बिदा करो’ हेरे पनि पुग्थ्यो ।

गुनासो थाँती राखेर भन्ने हो भने यो फिल्म समाजशास्त्र, मानवशास्त्र, विकास अध्ययनका विद्यार्थीहरुका लागि कोर्स बुक हो । नीति नियम बनाउनेका लागि निर्देशिका हो । समाज र समय बुझ्ने जाँगर हुनेले हेर्नैपर्छ । एउटा झ्यालबाट यस्तो बृहत्तर दृश्य देखाउने नवीन सुब्बालाई धन्यवाद ।

Leave a Reply