अभिनेत्री पूजा शर्माले नयाँ अनुभव हुने सोचेर फिल्म ‘दान्भी’ मा काम गरेको बताएकी छन्। प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा उनले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्।
फिल्ममा काम गर्न आफूलाई एक्सनले नै आकर्षित गरेको उनले बताइन्। ‘लभस्टोरी भएको भए काम नगर्न पनि सक्थेँ। यो एक्सन फिल्म भएकाले केही नयाँ अनुभव हुन्छ भनेर काम गरेकी हुँ,’ उनले भनिन्। यो फिल्ममा काम गरेपछि एक्सनको बारेमा धेरै कुराहरू सिक्न पाएको पूजाको अनुभव छ।
फिल्मका लागि उनले द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना अभ्यास गरेकी थिइन्।
एक्सन फिल्ममा काम गर्नु सोचेभन्दा धेरै गाह्रो रहेको अनुभव भएको समेत उनले बताइन्। ‘दान्भी’ आफ्नो लागि अहिलेसम्म गाह्रो र मेहनत गरेको फिल्म रहेको पनि उनले बताइन्। ‘हामीले अहिलेसम्म हेरिरहेका एक्सन भन्दा फरक एक्सन यो फिल्ममा हेर्न पाइनेछ। एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने बुझाई हुन्छ। तर यसमा प्राक्टिकल एक्सन छ,’ उनले भनिन्।
पूजाले आफू अभिनेत्री रेखा थापाको एक्सनबाट प्रभावित रहेको बताइन्। रेखापछि कोही अभिनेत्रीले एक्सनमा आफूलाई प्रस्तुत गर्न नसकेको पूजाको बुझाई छ।
अहिले दान्भीमा आफूले गरेको एक्सनलाई लिएर दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले खुशी व्यक्त गरिन्। उनले भनिन्, ‘केटी मान्छेले कस्तो एक्सन गर्दोरहेछ भनेर दर्शकलाई फ्रेसनेस हुन्छ। मैले आफ्नो फिल्म बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति दान्भीलाई लिएर आइरहेको छ।’
भविष्यमा पनि एक्सन फिल्ममा देखिने वा नदेखिने भन्ने कुरा ‘दान्भी’ रिलिजपछिको प्रतिक्रियाले टुंगो लगाउने पूजाले बताइन्। ‘मलाई दर्शकले एक्सनमा रूचाए भने अवश्य गर्छु। अहिले मलाई अरू पनि एक्सन फिल्मकै अफरहरु आइरहेको छ। दान्भीको प्रतिक्रिया नआइकन म अरू एक्सन फिल्मको कुरै गर्दिनँ,’ उनले भनिन्।
रूपेश तामाङको निर्देशनमा बनेको फिल्म ‘दान्भी’ मा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको अभिनय छ।