शहरको जनसंख्या २७ प्रतिशत मात्र, तथ्यांक कार्यालयको निष्कर्ष

१७ पुस, काठमाडौं । सरकारले राजनीतिक रूपमा नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका घोषणा गरेको क्षेत्र भित्र पनि ठूलो जनसंख्या अझै पनि ग्रामीण परिवेश र शहरोन्मुख अवस्थामा मात्र रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ग्रामीण र शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार कुल जनसंख्याको २७ प्रतिशत जनसंख्यामात्र अर्धघना, घना र शहरी केन्द्रमा बस्ने देखिएको छ। प्रशासनिक रूपमा विभाजित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई शहरी क्षेत्रका रूपमा मानिन्छ।

२०७८ सालको जनगणनाले महानगर, उपमहानगर र नगरपालिकाभित्र ६६.१७ प्रतिशत र गाउँपालिकामा ३३.८३ प्रतिशत मानिस बस्ने देखाएको छ। यसले ६६.१७ प्रतिशत मानिस शहरमा बस्छन् भन्ने भाष्य बनेको थियो। तर, यसले वास्तविक शहर र गाउँमा बस्ने जनसंख्याको उचित प्रतिविम्बित गर्न नसकेको भन्दै कार्यालयले शहरीकरणलाई पुनः परिभाषित गरेको छ। सोही आधारमा प्रतिवेदन सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले जानकारी दिएको छ।

अर्धशहरी र शहरोन्मुख नगरपालिकाका धेरै मानिस ग्रामीण परिवेशमा बस्ने र यो शहरको परिभाषा भित्र नपर्ने भन्दै कार्यालयले अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी स्थानीयकरण र पुनः परिभाषित गरेको उनले जानकारी दिए। यसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा समेत कार्यालयको छ।

नतिजाले के देखायो?

ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अनुसार देशभर ‘ज्यादै न्यून जनघनत्व’को ग्रामीण क्षेत्रमा ६ लाख ८७ हजार ९२२ जना मानिस बस्छन्। यो २.३८ प्रतिशत हो। ‘न्यून जनघनत्व’को ग्रामीण क्षेत्रमा ८६ लाख २९ हजार ३६९ जना मानिस बस्छन्। यो कुल जनसंख्याको २९.८३ प्रतिशत हो। ‘ग्रामीण क्षेत्र’मा २ लाख ८३ हजार १०२ जना मानिस बस्छन्। यो ०.९८ प्रतिशत हो। ‘शहरोन्मुख क्षेत्र’मा ३९.७४ प्रतिशत अर्थातः १ करोड १४ लाख ९६ हजार ३७५ जना मानिस बस्छन्। यस प्रकार ग्रामीण र शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्याको प्रतिशत ७२.९३ प्रतिशत रहेको छ।

अर्धघना, घना शहरी र शहरी केन्द्रमा क्रमशः ३.४१, ६.८१ र १६.८४ प्रतिशत जनसंख्या बसोबास गर्ने अध्ययनले देखाएको छ। यस प्रकार नेपालको शहरी क्षेत्रमा २७ प्रतिशत मात्र जनसंख्याको बसोबास गर्ने पाइएको छ।

नगरपालिकाभित्र धेरै ग्रामीण र शहरोन्मुख परिवेश

२०७८ सालको जनगणनाको नतिजा अनुसार नगरपालिका भित्र १२ सय ८५ वडा शहरोन्मुख परिवेश रहेको क्षेत्रमा छ। १२ सय ४४ वडा ग्रामीण क्षेत्रमा छ। ५ सय ९१ वडा मात्र शहरी क्षेत्रमा रहेका छ। यो प्रतिशतका हिसावले क्रमशः ४६, २५.४ र २८.४ प्रतिशत हो। यसका आधारमा नगरपालिकालाई राजनीतिक रूपमा शहर भनिए पनि जनसंख्याको ठूलो हिस्सा शहरोन्मुख वा ग्रामीण परिवेशमै रहेको कार्यालयको विश्लेषण छ।

उपमहानगरपालिका भित्र ५३ प्रतिशत मात्र जनसंख्या शहरमा र ३९ प्रतिशत जनसंख्या शहरोन्मुख विशेषतामा रहेको पाइएको छ। महानगरपालिका भित्र ८०.७ प्रतिशत शहरी, १७ प्रतिशत जनसंख्या शहरोन्मुख र २.३ प्रतिशत परिवेश ग्रामीण नै रहेको समेत अध्ययनले देखाएको छ।

Leave a Reply