मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। १०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे।

नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन्। आजको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए। गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन्।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए।

त्यतिबेला फेरि एमालेले सरकारलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाए र मधेस सरकार प्रतिपक्षीविहीन बन्यो। सरकार टिकाइराख्न मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवलाई ५४ जना सदस्यको समर्थन आवश्यक थियो।

जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको अहिले प्रदेशसमा संयुक्त सरकार छ। मधेसमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।

 

Leave a Reply