दोस्रो टेस्टमा भारतविरुद्धको दक्षिण अफ्रिका निरीह, ५५ रनमा अलआउट

काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन बुधबार आफ्नो पहिलो पालीमा घरेलु टोली दक्षिण अफ्रिकाले अत्यन्तै निराशाजनक प्रदर्शन गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा केवल ५५ रन बनाउँदै अलआउट भयो ।

दक्षिण अफ्रिकी टोली २३.२ ओभरमै अलआउट भएको हो । केप टाउनमा खेलिएको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । भारतीय बलरसामु निरीह देखिएका घरेलु टोलीका ब्याट्सम्यान एकपछि अर्को गर्दै क्रिमा आउने र पेभेलियन फर्किनेक्रम जारी रह्यो ।

दक्षिण अफ्रिकाका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । पाँचौँ नम्बरका ब्याट्सम्यान डेभिड बेडिङ्घमले १२ र छैटौँ नम्बरका ब्याट्सम्यान कायले भेरिनीले १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा पनि पाँच रन पाएको थियो । भ्रमणकारी टोली भारतका बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिए । उनले नौ ओभरमा तीन मेडन राख्दै केवल १५ रन खर्चिएका थिए । जसप्रित बुमराह र मुकेश कुमारले पनि दुई–दुई विकेट लिए ।

भारतविरुद्धको टेस्टमा कुनै पनि टोली यति कम स्कोरमा अलआउट भएको यो पहिलो पटक हो । यसअघि भारत आफै भने योभन्दा पनि कम योगफलमा अलआउट भएको इतिहास छ । सन् २०२० को डिसेम्बर १७ तारिखमा खेलिएको टेस्टमा अस्ट्रेलियाले भारतलाई केवल ३६ रनमा अलआउट गराएको थियो ।

यसैगरी टेस्ट क्रिकेटको इतिहासमा दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफल खराब कीर्तिमान पनि ३० रन रहेको छ । इङ्ल्यान्डविरुद्धको टेस्टमा दुईपटक दक्षिण अफ्रिका ३० रनमै अलआउट भएको छ । टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम रनको खराब कीर्तिमान भने न्युजिल्यान्डको नाममा लेखिएको छ । न्युजिल्यान्डको टोली इङ्ल्यान्डविरुद्धको खेलमा केवल २६ रनमा अलआउट भएको इतिहास छ ।

Leave a Reply